तीन महिनामै २ लाख १० हजारले लिए श्रम स्वीकृति, युएईले भिसा रोक्यो, अरु देशले पनि सुरक्षा चासो बढाउँदै
चालु आर्थिक वर्षको पहिलो तीन महिनामै २ लाख १० हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि असोज महिनासम्म २ लाख १० हजार ५१६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरेका छन्।
यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म १ लाख ७० हजार ६०३ जनाले श्रम स्वीकृति लिएका थिए। यस वर्ष यो संख्या ३९ हजार ९१३ ले बढी भएको विभागको तथ्यांकले देखाएको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कतार, ओमान, बहाराइन र कुवेतमा नेपाली कामदार प्रवेशमा रोक लागेको भनिए पनि तथ्यांकले ती देशतर्फको कामदार पठाइमा प्रभाव खासै नपरेको देखाउँछ।
विभागका तथ्यांकअनुसार असोज महिनामात्रै युएईका लागि साढे १८ हजारले श्रम स्वीकृति लिएका छन्। त्यसपछि कतारका लागि ११ हजारभन्दा बढी, साउदी अरबका लागि ८ हजार ७९१ जना, र कुवेतका लागि ४ हजार ५२३ जनाले श्रम स्वीकृति लिएका छन्।
गत आर्थिक वर्षमा मात्र ८ लाख ३९ हजारभन्दा बढी नेपाली युवा रोजगारीका लागि विदेश गएका थिए।
वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार जेनजी आन्दोलनको पूरा असर अझै स्पष्ट रूपमा देखिएको छैन, तर आगामी महिनामा यसको प्रभाव देखिन सक्ने अनुमान गरिएको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङका अनुसार युएईले हाल कामदार र विद्यार्थी दुवै प्रकारका भिसा रोकेको छ। उनका अनुसार अन्य केही देशहरूले पनि सुरक्षासम्बन्धी चासो बढाएका छन्।
गुरुङले भने, “युएईले भिसा रोकेको छ, र अरू देशहरूले पनि सावधानी अपनाइरहेका छन्। नेपालका जेलबाट कैदी फरार भएको घटनापछि केही देशहरूले सम्भावित अपराधी कामदार भित्रिएको त होइन भन्ने शंका गर्दै सुरक्षामा कडाइ गरेका छन्। तर दुबईबाहेक अरू खाडी देशहरूमा त्यति कडाइ गरिएको छैन।”
उनका अनुसार पछिल्लो समय श्रम गन्तव्य देशहरूबाट माग बढेकै कारण श्रम स्वीकृति लिनेको संख्या वृद्धि भएको हो।
विभागका अनुसार वैदेशिक रोजगारीमा वृद्धिको मुख्य कारणहरूमा —
श्रमिकमैत्री कानुन र नीतिहरूमा गरिएको संशोधन,
श्रम स्वीकृति सेवाको पूर्ण अनलाइन प्रणाली,
रश्रम गन्तव्य देशहरूमा कामदार अभाव —
मुख्य हुन्।
यसरी, वैदेशिक रोजगारीमा जानेको लहर अझै तीव्र बन्दै गएको देखिन्छ, यद्यपि केही गन्तव्य मुलुकहरूले सुरक्षा चासोका कारण नयाँ सतर्कता अपनाएका छन्।